काठमाडौं । मुलुकका तीन जिल्लामा भएको उपनिर्वाचन भव्यताका साथ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा भएको मतदान सहजै सम्पन्न भएको आयोगको दाबी छ । चितवनका केही मतदान केन्द्रमा भने झडपको स्थिति बनेको थियो । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्र र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा केही समय झडपको स्थिति बनेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी नाराबाजीसहित मतदानस्थल पुगेपछि स्थिति तनावपूर्ण भएको थियो । लगत्तै निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै रास्वपाले माफी माग्ने बताएको थियो । आज सम्पन्न भएको उपनिर्वाचनमा तनहुँमा ५४ दशमलव ३ प्रतिशत, बारामा ६३ दशमलव ५६ र चितवनमा ६७ दशमलव ६३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन सौहार्दपूर्ण ढंगले सम्पन्न भएको बताउनुभयो ।
अर्यालले सबै ठाउँको मतपेटिका सदरमुकाममा आइसकेपछि गणना सुरु गरिने जानकारी दिनुभयो । निर्वाचनमा सहभागी राजनीतिक दल, निर्वाचन अधिकृत, उम्मेदवार, सुरक्षा निकायको समन्वयमा मतगणनाको थालनी गरिने उहाँको भनाइ छ ।
आज सम्पन्न भएको उपनिर्वाचनले तीनजना प्रतिनिधिसभा सदस्यलाई चयन गर्नेछ । केहीको प्रतिष्ठाको लडाइँ छ भने नयाँ दलले सबैलाई चुनौती थपेको छ । मुलुकको राजनीतिक दिशा जातीय, वर्गीय र क्षेत्रीय रुपमा विकसित भइरहेका बेला नयाँ दलहरूले सिन्डिकेट तोडिरहेका छन् ।
जनताले आफ्ना ससाना आवश्यकता पूर्ति गर्नका निम्ति अमूल्य मत दिएका हुन्छन्, त्यसको सदुपयोग गरी जनप्रतिनिधिहरू बफादार बन्न जरुरी छ ।