काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै किराँतीले भन्नुभयो ‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो ।
त्यसैले उहाँमा छटपटी हुनु स्वाभाविक हो । उहाँको पालामा यस्ता अनगन्ती घटना भएका छन्,।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारको विरुद्धमा सम्झौताहीन ढंगले लाग्नुपर्ने उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘असली र नक्कली राजकुमार दिक्पाल छुट्टिने बेला यही हो । यो कुरा प्रधानमन्त्रीलाई थाहा छ । भ्रष्टाचारमा सम्झौता नगरौं । कसैको डर, धाक, धम्की, त्रास र लोलोपोतोमा परेर सम्झौता गर्न थाल्यौं भने हामीले राष्ट्रको आवश्यकता र जनताको चाहनालाई नेतृत्व गर्न सक्दैनौं । बरु कुर्सीमा पाँच दिन बसौं, इमानदारीपूर्वक काम गरौं ।’
नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुले सत्य आफैं बोलेको पनि मन्त्री किराँतीले बताउनुभयो । भ्रष्टाचार अन्त्यका लागि कठोर कानुनको आवश्यकता पनि उनले औंल्याउनुभयो । मन्त्री किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा लैजाने कोसिस भइरहेको पनि बताउनुभयो ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगेका मन्त्री किराँतीले लुम्बिनीलाई विश्वसामु नयाँ ढंगले ब्रान्डिङ गर्नुपर्ने बताउनुभयो ।