काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकका विषयमा कानुनविद्हरुसँग छलफल थाल्नुभएको छ ।
संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर रोक्नुभएको थियो । त्यसयता विधेयक अलपत्र छ भने नागरिकतासम्बन्धी विधेयक नआउँदा हजारौँ नेपाली नागरिकताविहीन छन् ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले सोही नागरिकता विधेयकका सम्बन्धमा कानुनी परामर्श लिन लाग्नुभएको हो। शनिबार बेलुका बसेको सत्ता गठबन्धनको बैठकमा त्यसबारे छलफल भएको थियो । सो छलफलमा कानुनविद्हरुसमेत सहभागी थिए ।
विगतमा राष्ट्रपतिले गरेका संविधान विपरीतका गतिविधिलाई वर्तमान राष्ट्रपतिले सच्याएर जानुपर्ने निष्कर्ष निकालेका सत्ता गठबन्धन दलले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेका छन् ।
अहिले पनि विगतमा नागरिकता विधेयक संसद्बाट पारित गराउने दलहरु नै सत्ता गठबन्धनमा छन् । सत्ता गठबन्धनको आग्रहपछि राष्ट्रपति पौडेलले आइतबारै कानूनविद्हरुसँग छलफल गर्न लाग्नुभएको हो ।