काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योग व्यवसायको विकास र विस्तार गर्दै औद्योगिक आर्थिक क्रान्तिको आरम्भ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
काठमाडौंमा आइतबार आयोजित नेपाल बिजनेस समिट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षको बजेटमा कृषि, उद्योग र स्वरोजगारले विशेष प्राथमिकता पाउने जनाउनुभयो । उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायको विकास गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्रीले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावर, पर्यटन, जलविद्युत्, सूचना प्रविधिलगायत प्रचुर सम्भावना बोकेका क्षेत्रहरुमा स्वदेशी तथा वैदेशिक लगानी बिस्तार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले विदेशी लगानीमैत्री वातावरण बनाउन केही कठोर कदम चाल्नुपर्ने आवश्यक महसुस गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री दाहालले विधि प्रक्रियाको झन्झटलाई अन्त्य गर्नुपर्ने आवश्यक्ता रहेको पनि बताउनुभयो। प्रधानमन्त्री दाहालले प्रतिभावान विद्यार्थी विदेश पलायन हुनबाट रोक्न विदेशी विश्वविद्यालयहरु नेपालमै सहजरुपमा खोल्न पाउने नीति बनाउने उद्घोष गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सरकार आगामी आर्थिक वर्षको बजेटका लागि नीति, कार्यक्रमको अन्तिम तयारीमा रहेको बताउनुभयो।