काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा पार्टीका सचिव टोपबहादुर रायमाझी ‘सम्पर्कविहीन’ भएको विषयमा प्रश्न उठाइएको छ ।
सांसद तथा केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष तथा संसदीय दलका नेतासँग प्रश्न राख्नुभएको थियो।
‘टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भइसकेपछि उहाँ आफैं प्रहरीको सम्पर्कमा आएर अनुसन्धानलाई सघाउनुपर्ने होइन र ? ’, थापाले सोधे, ‘यस विषयमा संसदीय दलले कुनै निर्देशन दिन आवश्यक छ कि छैन ?’
जवाफमा ओलीले व्यक्तिले गरेको गल्तीमा सम्बन्धित व्यक्ति नै जवाफदेही हुनुपर्ने बताउनुभयो। रायमाझीले प्रशासनको अनुसन्धानमा सघाउनुपर्नेमा उहाँले पनि सहमति जनाउनुभयो ।
‘पक्राउ पुर्जी जारी गरिसकेपछि यहाँ जे–जस्तो ढंगको तयारी गरिएको थियो, त्यस हिसाबले उहाँ नआउनुभएको हुनसक्छ । यदि फसाउन खोजिएको हो भने पार्टीले बचाउ गर्ने हो । तर, व्यक्तिगत कमी(कमजोरी हुन् भने व्यक्तिले नै त्यसको जिम्मेवारी लिएर अनुसन्धानमा सघाउनुपर्छ’, ओलीको भनाइ थियो ।