तीर्थराज ज्ञवाली, देउखुरी । दाङको देउखुरीस्थित राप्ती गाउँपालिका वडा नं ६ सगरापुरकी सरिता चौधरी स्वर्गद्धारी कृषक समुहका आवद्ध भइन् । उनी आबद्ध हुनुको कारण थोरै जग्गामा पनि धानको उत्पादन बढाउनु थियो । कृषि पेशाबाटै आग्दानी गर्नुथियो ।
सरिताले आठ कट्ठामा भिएनआर २२४५ र २२३३ जातको धान लगाइँन् । कृषि प्राविधिकको नियमित सल्लाह र रेखदेखमा मनग्गे धान फलाइँन् । ‘विगतका वर्षहरुभन्दा राम्रो र धेरै धान फलेको देखेर म खुसीले गदगद भएँ’, उनी खुसी यसरी व्यक्त गर्छिन् ।
राप्ती गाउँपालिकाकै वडा नं –४ जनकपुरका नमुना कृषक समुहका सदस्यहरु पनि हर्दिनाथ वर्णशंकर १ र युएस ३८२ नामका हाइब्रिड धान लगाए । धान राम्ररी फलेपछि उनीहरु पनि खुसी छन् ।
देउखुरी उपत्यकामा मसिनो हाइब्रिड धानको उत्पादन सुरु गर्नका लागि किसान परियोजना कृषकका घरघरमा पुगेसँगै यहाँका किसानको जीवनमा परिवर्तन आएको छ ।
यतिमात्र नभएर पछिल्लोसमय सुपर चाइना ६०१ लगायतका धानको पहिलो खेती गराउन राप्ती गाउँपालिकामा ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल र कठाहामा रहेको चौधरी राइस मिलको सहकार्यमा काम भइरहेको छ । जसको उदेश्य उत्पादनमा बृद्धि गराइ किसानको आम्दानी बढाउनु रहेको छ ।
‘कृषकको आम्दानीसँगै कृषि उत्पादनमा बृद्धि गर्न हामीले नयाँ हाइब्रिड धान खेतीको उत्पादन सुरु गरेको छौ’, परियोजनाका व्यवस्थापक श्यामेश चौधरी भन्छन् ।
उन्नत धान खेतीको अवस्थाकाबारेमा बुधवार राप्ती गाउँपालिका उपाध्यक्ष, वडा नं ४ र ६ का अध्यक्षहरु, ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राइस मिल, कृषक, कृषि प्राविधिक र पत्रकारको टोलीले धानको संयुक्त रुपमा अनुगमन गरेको थियो ।
देउखुरी उपत्यकाका राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा करिब २ हजार कृषकलाई आबद्ध बनाएर २०० हेक्टर खेतमा मसिनो हाइब्रिड धानको उत्पादन गर्ने लक्ष्यसहित ज्ञानमा आधारित एकिकृत दिगो कृषि परियोजना किसान २ नेपाल, चौधरी राइस मिलले काम गरिरहेको ब्यवस्थापक चौधरीले बताए ।
विदेशबाट आयात हुने मसिनो चामललाई नेपालमै उत्पादन गर्ने उदेश्यका साथ मसिनो हाइब्रिड धान हर्दिनाथ वर्णशंकर १, युएस ३८२, भिएनआर २२४५ र २२३३, युइस ८०३, युएस ८०३ को बिउ उत्पादन गरी कृषकलाई परियोजनामार्फत सरकारले वितरण गरेको छ ।
‘यसअघि मसिनो चामल विभिन्न देशबाट आयात हुने गथ्र्यो । परियोजनाको कार्यक्रम गाउँमा आएपछि यो कम भएको छ’, कृषि परियोजना किसान २ की एरिया संयोजक सुधा मिश्र भन्छिन्, ‘धेरै फल्ने, रोग कम लाग्ने र खादा स्वादिलो हुने धानको उत्पादन गर्न हाम्रै किसान उत्साहित हुनेछन् ।’