काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लडाकु शिविरको भ्रष्टाचारका नाममा नेकपा एमालेले राजनीतिक रोटी सेकाइरहेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रममा नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै शाहीले भन्नुभयो, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटकपटक प्रधानमन्त्री हुनुभएको छ । उहाँ प्रधानमन्त्री हुँदा लडाकु शिविरको छानबिन गर्न केले रोकेको थियो ? मुखले भनेर मात्र हुँदैन नि । सरकारमा हुँदा त्यस विषयमा प्रवेशै नगर्ने, बाहिर हुँदा चर्काउने गर्दा उसले यसलाई राजनीतिक हतियार मात्र बनाएको छ । त्यसको पुष्टि गर्न नसक्ने भएकाले उहाँले भ्रम फिँजाउने गर्नुभएको छ,।’
लडाकु शिविरको भ्रष्टाचारको छानबिन गर्न आफ्नो पार्टी तयार रहेको पनि शाहीले बताउनुभयो । लडाकुको नाममा आफू ब्रह्मलुट मच्चाएर माओवादी र पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाउने गरिएको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले संसद् सचिवालयमा बुझाएको सम्पत्ति विवरण वेबसाइटमा राख्नुपर्ने पनि औंल्याउनुभयो ।