काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आगामी आर्थिक वर्षमा आफ्ना लागि पनि बजेट छुट्याउन माग गरेको छ । बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङलाई प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरको नेतृत्वको टोलीले भेटेर यस्तो आग्रह गरेको हो ।
लोकदोहोरी क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा रकम विनियोजन गर्न भन्दै प्रतिष्ठानले ज्ञापनपत्र समेत बुझाएको छ । २०८० सालको खर्च विवरण समेत पेश गर्दै प्रतिष्ठानले राष्ट्रिय लोक सांस्कृतिक संग्रहालय निर्माणका लागि ५५ करोड, अग्रज स्रष्टा सांगीतिक एकल साँझका लागि ५० लाख, दोहोरी रनिङ शिल्ड प्रतियोगिताको लागि ७५ लाख, लोक सांस्कृतिक महोत्सवका लागि एक करोड र तीज उत्सवका लागि ३५ लाख रुपैयाँ विनियोजन गर्न आग्रह गरेको छ ।
साथै, संस्कृति मन्त्रालयले तयार पार्न लागेको नियमावलीमा दोहोरीगीत क्षेत्रलाई पनि समेट्न मन्त्री किरातीलाई आग्रह गरिएको छ ।
यसैबीच प्रतिष्ठानले सातै प्रदेशमा घुम्ति बैठक गर्ने भएको छ । देशभित्रका मौलिक कला, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनको माध्यमबाट होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ घुम्ति बैठक गर्न लागिएको प्रतिष्ठानमा सञ्चार समन्वय विभागका प्रमुख राजकुमार रायमाझीले जानकारी दिनुभयो ।
पहिलो बैठकले जेठ २६ र २७ गते पोखरास्थित होमस्टे तथा ताङतिङ गाउँको संरक्षणका लागि प्रचारप्रसार गर्नेछ । ताङतिङको संरक्षण, सम्वद्र्धन गर्न ईन्द्रेणीको टिमले छायांकन समेत गर्ने सञ्चार समन्वय विभाग प्रमुख रायमाझीले जानकारी दिनुभयो ।
देशैभर रहेका कला, संस्कृति र होमस्टेलाई संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्न यो बैठकको आयोजना गरिएको हो ।