काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।
मंगलबार (आज) राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समाधान गर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय हितलाई सर्वोपरी राखी सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा छिमेकीलगायत र मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ बनाउने पनि बताउनुभउको छ ।
त्यस्तै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाभिमान र सीमानाको सुरक्षाका लागि सरकार सचेत र प्रतिवद्ध रहेको पनि उहाँले बताउनुभयो । परराष्ट्र नीति सञ्चालनमा सबै राजनीतिक दलबाट एउटै धारणा हुनुपर्छ भन्ने मान्यता आफ्नो रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।