काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रतिनिधिसभामा ताजा जनादेश प्राप्त र सक्रिय संसद्लाई छलेर सरकारले असंवैधानिक कदम चालेको बताउनुभएको छ। संविधानको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेल किर्ते र जालसाजीपूर्ण काममा संलग्न भएको उहाँको आरोप छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै बर्तौलाले भन्नुभयो, ‘संविधान बमोजिम निष्क्रिय र मृतप्रायः भएको नागरिकता विधेयकलाई समाधिस्थलबाट उत्खनन गरेर प्रमाणीकरण गरिएको छ । न्यायपालिकाले आफ्नो काम गर्दै गर्छ । तर यो संसद्को विशेषाधिकार हनन भएको विषय हो,।’
आफूहरू प्रधानमन्त्री र राष्ट्रपति संस्थाको विरुद्ध नभई किर्ते जालसाजीविरुद्ध संसद् अवरोध गर्न बाध्य भएको पनि उहाँले बताउनुभयो । बर्तौलाले भन्नुभयो, ‘हामी अहिले विधि र प्रक्रियाको कुरा गर्दैछौं । यो सरकारले गरेको बेइमानी हो । प्रधानमन्त्रीले भारत भ्रमणमा जाँदा नागरिकता विधेयक कोसेली लिएर लानुपर्ने त्यस्तो के कारण थियो?’ सरकार सुल्टो बाटोमा हिँडेमा एक हप्ताभित्र नागरिकता विधेयक पारित गर्न नेकपा एमाले तयार रहेको पनि उहाँले बताउनुभयो ।
नेता बर्तौलाले नेकपा माओवादी केन्द्र विद्यमान शासकीय प्रबन्धलाई समाप्त पार्न लागेको आरोप पनि लगाउनुभयो । साथै उहाँले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रम राष्ट्रहित विपरीतका काम गरेको आरोप पनि लगाउनुभयो । बर्तौलाले भन्नुभयो, ‘भारत भ्रमणका दौरान कतिपय अपारदर्शी सम्झौता भए । भारत जानुअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा जोडदार ढंगले उठाउँछौं भन्नुभएको थियो, अहिले त्यो भूमि छाड्छौं भनिरहनुभएको छ । बंगलादेशको बाटो लिन आफ्नो भूमि छाड्ने छुट उहाँलाई कसले दियो? यसबारेमा उहाँले देश र जनतासँग माफी माग्नुपर्छ ।’
साथै उहाँले पशुपति जान घिन मान्ने प्रधानमन्त्री प्रचण्डले गेरुवस्त्र लगाएर भारतको धार्मिक पर्यटन प्रवर्द्धन गरेको आरोप पनि लगाउनुभयो । प्रधानमन्त्रीले अपारदर्शी सम्झौता र नागरिकता विधेयकको गल्ती सच्चाउने प्रतिबद्धता जनाए संसद् चल्न दिने पनि बर्तौलाले बताउनुभएको छ ।