काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गर्नुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लिङ्देनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दु राष्ट्रको मुद्दालाई अन्तर हृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको बताउनुभयो। उहाँले कसैलाई चित्त बुझाउनका लागि पशुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताउनुभयो ।
लिङ्देनले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दु राष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताउनुभयो । उहाँले राप्रपाले उपयुक्त समयमा हिन्दु राष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने बताउनुभयो ।
अध्यक्ष लिङदेनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पार्नुभयो । उहाँले हिन्दु राष्ट्र देशको लागि आवश्यक भएको बताउनुभयो ।