काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली राजनीति भित्र प्रसस्त विकृति रहेको स्वीकार गर्दै त्यसलाई सफा गर्ने जिम्मेवारी आफूहरुको भएको बताउनु भएको छ ।
आइतबार राजधानीमा राष्ट्रिय युवा परिषदले आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघीय महासभा अभ्यास कार्यक्रमको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले राजनीतिलाई सफा नगरीकन देश सफा गर्न नसकिने बताउनुभयो। उहाँले अहिलेको लोकतन्त्रमा पनि नागरिकका आवश्यकता पूर्ति हुन नसकेको स्वीकार गर्नुभयो।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले राजनीतिबाट भागेर लोकतन्त्र र हालसम्मका राजनीतिक उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न युवाहरुलाई आग्रह गर्नुभयो। गृहमन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृति जस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो।
उहाँले विकास, विज्ञान र संस्कृतिलाई सँगसँगै अघि लैजानुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट छनौट भई आएका १६ देखि २४ वर्ष उमेर समूहका २०० जना युवाहरुले चारदिनसम्म राष्ट्रसंघको बैठकका एजेण्डा, कार्यविधि, कूटनीतिक आचरण र मर्यादा, विश्वका साझा सवाल, जलवायु परिवर्तन प्रतिकार्य आदि विषयमा बहस र अभ्यास गर्ने जानकारी दिनुभयो।