काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनजातिलाई फुटाएर देशलाई कुनै हित नहुने भन्दै तथ्यांकमा भएको कमजोरी सच्याउन सरकार तयार रहेको बताउनुभएको छ । उहाँले सरकारबाट नियतवश त्यस्तो कमजोरी नभएको समेत बताउनुभयो ।
काठमाडौंको खुलामञ्चमा शुक्रबार(आज) मगर समुदायको भूमे पर्वका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘देशलाई, जनजातिलाई वा कुनै पनि जातजातिलाई फुटाएर देशको हित हुँदैन, यसमा सरकारको कुनै नियत पनि छैन, हामी प्रस्ट छौं ।’
उहाँले पछाडि परेका जातजाति, वर्ग समुदायको संघर्ष र बलिदानीबाटै नेपालमा लोकतन्त्र प्राप्तिसम्मका आन्दोलन सफल भएको भन्दै ती समुदायको अहित हुने गरी सरकारले कुनै पनि काम नगर्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले तथ्यांक विभाग प्रधानमन्त्री कार्यालय मातहतमै रहेको भए पनि आफूलाई जनजातिका जातजातिहरूलाई अलग गरेर तथ्यांक संकलन भएकोबारे कुनै जानकारी नभएको बताउनुभयो ।
‘मगर समुदायलगायत अरू पनि आदिवासी जनजातिलाई तथ्यांक कार्यालयबाट जनगणनाको नतिजा सार्वजनिक गर्ने क्रममा फुटाउने काम भयो भनेर राख्नुभएको छ । दुई/तीन दिन अगाडि आदिवासी जनजाति महासंघले पनि त्यसबारे ध्यानाकर्षण गराउनुभएको थियो । मैले त्यसबारे पहिलो पटक थाहा पाएको हो,’ उहाँले भन्नुभयो, ‘यसलाई सरकारले सच्याउँछ । म प्रधानमन्त्री नै त्यसलाई सच्याउनका लागि तयार भइसकेको छु ।’
उहाँले भूमे पर्व प्रकृतिलाई विनाश हुन नदिने र रक्षा गर्ने सन्दर्भमा नयाँ प्रण गर्ने दिनको रुपमा रहेको बताउनुभयो ।