काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री किराँतीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताउनुभयो । उहाँले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभयो ।
उहाँले दुर्गम क्षेत्रमा विमानस्थलहरू बने पनि त्यस क्षेत्रमा उड्ने हवाइजहाजको कम हुँदा नियमित उडान गर्न नसक्दा विमानस्थलको औचित्यमाथि नै प्रश्न उठेको बताउनुभयो ।
दुर्गम क्षेत्रमा उडान गर्दा नाफा नहुने भएकोले निजी क्षेत्र त्यसतर्फ उडान सञ्चालन गर्न आकर्षित नदेखिएको उहाँको भनाइ छ। उहाँले नेपाल वायु सेवा निगमले तिनवटा साना जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाएको पनि जानकारी गराउनुभयो ।
उहाँले कुन प्रक्रियाबाट खरिद गर्ने भन्नेकुरा निगमकै विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा भएको उल्लेख गर्दै आफूले नेपालको प्रचलित कानून अनुसार पारदर्शी ढंगले जहाज खरिदको प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताउनुभयो ।