काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद लेखनाथ दाहालले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नेकपा एमालेको माग अनुचित भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘कुनै पनि खालको दबाब र प्रभावबाट मुक्त भएर सुन तस्करीको अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । त्यसलाई गिजोल्न, बिथोल्न, विषयान्तर गर्न, सुन तस्करलाई संरक्षण गर्न र त्यसको जरा खोतल्दा आफूसम्म आइपुग्छ भन्ने त्रासमा एमालेले राजनीतिक सहभागिता खोजेको छ । यो राजनीतिक सहमति गर्नेभन्दा पनि आपराधिक विषय हो । अपराधलाई अनावश्यक राजनीतिक विषय बनाउने, समितिमा आफू बसेर प्रमाण नष्ट गर्ने, भ्रष्टाचार विरोधी अभियानलाई कमजोर बनाउने बदनियतपूर्ण माग हो,।’
एमालेको संसद् अवरोध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुशासन, समृद्धि र सामाजिक न्यायको संकल्पसहित भ्रष्टाचार विरोधी अभियानविरुद्ध लक्षित रहेको आरोप पनि सांसद दाहालले लगाउनुभयो । उहाँले सीआईबीसँग प्रमाणका आधारमा गृहमन्त्री वा प्रधानमन्त्रीलाई पनि अनुसन्धान गर्ने अधिकार भएको जिकिर पनि गर्नुभयो ।
एमालेले संसद् अवरोध गरिरहेकाले सांसदले जनताको कुरा राख्न नपाएको पनि सांसद दाहालले बताउनुभयो । साथै उहाँले सभामुख देवराज घिमिरेले एमालेलाई सहयोग पुग्ने गरी गतिविधि गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
३५ दिनभित्र अनुसन्धान गर्न सीआईबी असफल भयो वा त्यसमा चित्त बुझेन भने मात्र सरकार उच्चस्तरीय छानबिन समिति बनाउन तयार रहेको पनि उहाँले बताउनुभयो । सरकार सदाका लागि सुन तस्करी अन्त्य गर्न लागेको दाबी पनि सांसद दाहालको छ ।