काठमाडौं । नेकपा एमालेको शनिबार(आज)देखि सिराहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिनुभयो ।
उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली आज नै विराटनगर पुगिसक्नुभएको थियो । ’बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला पर्ने भएकाले समस्या भयो, निरन्तर वर्षाले खोलाबाढीको स्थिति छ, पार्टी अध्यक्षसँगको छलफलपछि बैठक सार्ने निर्णय भयो’, मण्डलले भन्नुभयो ।
एमालेले आजदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो । सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो । उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो ।