काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संयुक्त राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता स्वाभाविक भएको बताउनुभएको छ । साथै उहाँले चीन भ्रमण पनि हुनैपर्ने औंल्याउनुभयो ।
प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न जाने चलन रहेको र आम निर्वाचन पछि बनेको सरकारले पहिलो पटक महासभालाई सम्बोधन गर्नु स्वाभाविक रहेको उहाँले बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता डा. रिजालले नेपाल र भारतबीचको सम्बन्धमा चिनियाँ राजदूत छन् सोङको अभिव्यक्ति असहज किसिमको भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मित्रराष्ट्र भारतसँग हामी चीनसँग भन्दा धेरै आयामबाट जोडिएका छौं । सबभन्दा नजिकको मित्रका बारेमा हामीले नै बढी जानेका छौं । त्यसैले चिनियाँ राजदूतले त्यो विषयमा नबुझीकन बोल्नु असहज हुन्छ । नेपाल र चीन सम्बन्धमा भारतका राजदूतले बोले पनि त्यो उचित हुन्न । राजदूतले जिम्मेवारीपूर्वक बोल्नुपर्छ । यस विषयमा सरकारले आवश्यक सोधपुछ गर्ला । मैले धेरै जान्ने भएर टिप्पणी गर्नु आवश्यक छैन ।’
चिनियाँ राजदूतको अभिव्यक्ति र नेपालको भूमि आफ्नो नक्सामा नसमेट्नुले कूटनीतिक कमजोरी देखाएको पनि डा. रिजालले बताउनुभयो । उहाँले २०१८ सालदेखि हाम्रो स्वामित्वको लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि भारतले प्रयोग गरिरहेको तर त्यो भूमि चीनले पनि नस्विकारेको बताउनुभयो । यसले मित्रराष्ट्रसँगको सम्बन्धको आधार र परराष्ट्र नीति कुन तागतमा उभिएको रहेछ भन्ने छर्लंग भएको उहाँको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणका एजेन्डामा कूटनीतिक ज्ञानलाई उहाँले पहिलो नम्बरमा राख्नुभएको छ । भारत र चीनसँग हाम्रो सम्बन्धको संवेदनाशीलता र गाम्भीर्यबारे हलुका टिप्पणी गर्नु उचित नहुने नेता डा. रिजालको भनाई छ ।
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना सकेसम्म अनुदान नसके चित्त बुझ्ने सस्तो ब्याजदरमा सम्पन्न गर्नु नै नेपालको राष्ट्रिय स्वार्थ हुने उहाँले औंल्याउनुभयो । डा. रिजालले भने, ‘बीआरआई प्रोजेक्टमा अहिलेसम्म एउटा पनि काम भएको छैन । जी–२० बैठकले भारतको अन्तर्राष्ट्रिय भूमिका बढेको पनि रिजालको टिप्पणी छ ।
कांग्रेस नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनचाहना अनुसार प्रभावकारी काम गर्न नसकेको आरोप पनि लगाउनुभयो । भ्रष्टाचारका सबै फाइल खोल्दै जाने, फैलाउने, छरपस्ट बनाउने तर कुनै पनि टुंगोमा नपुर्याउने परिस्थिति देखिन थालेको उहाँको विश्लेषण छ ।
अहिले नेपाली कांग्रेस सरकार परिवर्तन गर्न नलागेको पनि डा. रिजालले स्पष्ट पार्नुभयो । उहाँले पूर्वसहमतिमा कांग्रेस इमानदार रहेको प्रस्ट्याउनुभयो ।