काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस माग गरेको उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई १ लाख ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिइएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।
शुक्रबार(आज) पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।