काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश र जनताको हितको निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले समाजवादी जागरणको माध्यमबाट रोजगारी, सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन आफ्नो पार्टीले ‘मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार’ कार्यक्रम सुरु गर्न लागेको पनि स्पष्ट पार्नुभयो ।
यही असोज १४ गतेबाट सो पार्टीले झापाको मेची नदी किनारबाट सो अभियानको शुभारम्भ गर्दैछ । शुक्रबार(आज) पार्टी केन्द्रीय कार्यालय आलोकनगरबाट सो अभियानको पहिलो तयारी टोलीलाई बिदाइ गर्दै अध्यक्ष नेपालले सो अभियानले आम जनतामा समाजवादप्रति उत्साह ल्याउने र पार्टी कार्यकर्ता पंक्तिमा पनि जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सो अभियानमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो। अध्यक्ष नेपालले अभियानको क्रममा विभिन्न जिल्लाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना हुने र त्यसले समाजवादको सन्देश आम जनताको घरदैलोमा पुर्याउने बताउनुभयो ।
अध्यक्ष नेपालले अभियानका क्रममा पार्टीको सदस्यता बिस्तारको काम पनि हुने बताउनुभयो । उहाँका अनुसार सो अभियान असोज २८ गते महाकाली नदीको किनारामा पुगेर समापन हुनेछ । अभियानका क्रममा रोजगारी, सुशासन र समृद्धिको पक्षमा नारा घन्काउने, समाजवादप्रतिको पार्टीको धारणाहरू आम जनतालाई जानकारी गराउनेलगायतका जनपक्षीय कामहरू हुने पनि नेकपा एकीकृत समाजवादीले जनाएको छ ।