काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धमा सरकारको जवाफ माग्नुभएको छ ।
बिहीबार(आज)को प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले मोदीले नेपाली भूमि गुन्जीमा गरेको भ्रमणबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने बताउनुभएको हो । उहाँले मोदी नेपाल आउँदा सरकारले कुनै स्वागत नगरेको र देशलाई कुनै जानकारी नदिइएको टिप्पणी गर्नुभयो।
‘हाम्रो मित्रराष्ट्र छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भू–भागमा आउनुभएको रहेछ । छिमेकी राष्ट्रको प्रधानमन्त्री हाम्रो भू–भागमा आउँदा सरकारले न कुनै स्वागत गरेको छ, न देशलाई कुनै जानकारी गराएको छ, यत्रो ठूलो भ्रमण हाम्रो देशमा यो कुटी, गुन्जी अहिले सम्माननीय सभामुख आसिन हुनुभएको चेयरको अगाडिको डेस्कको चुच्चे नक्सा भित्र नै पर्छ । हामीले नै पास गरेको, यो सदनले पास गरेको यो चुच्चे नक्साभित्र हाम्रो भू–भाग पर्छ । त्यस कारणले त्यस भूभागभित्र गुन्जी पनि पर्छ । जहाँ छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभयो भन्ने समाचार आयो,’ उहाँले भन्नुभयो ।
मोदी आएको आधिकारिकताका लागि प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दा त्यहाँ जान नपाउने कुरा थाहा भएको लामिछानेले उल्लेख गर्नुभयो । ‘म सरकार र परराष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, यति ठूलो भ्रमण आफ्नो भूमिमा, आफ्नो देशमा छिमेकी राष्ट्रका प्रधानमन्त्रीको भ्रमणबारे सरकारले नेपाली जनतालाई, सदनलाई जानकारी गराउनु पर्दैन?,‘ लामिछानेले भन्नुभयो, ‘यत्रो ठूलो भ्रमणमा मित्रराष्ट्र, छिमेकी राष्ट्रको त्यति ठूलो व्यक्तित्व, सरकार प्रमुख हाम्रो भूमिमा आउँदा खेरी सरकारले उहाँलाई स्वागत गर्नु पर्दैन ? कुनै कार्यक्रम हुनुपर्दैन ? त्यसका औपचारिकताहरू हुँदैनन्? त्यस कारणले यस बारेमा सम्मानित सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्यो ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार(आज) नेपालको अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भ्रमण गरेका छन्। आज बिहान लिम्पियाधुरा नजिकको पार्वती कुण्ड पुगेर मोदीले कैलाश पर्वतको दूरदर्शन तथा पूजा आजा समेत गरेका थिए। मोदीले गुञ्जी क्षेत्रका गाउँलेसँग अन्तर्क्रिया गरेका पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्।