काठमाडौं । पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रीय गठबन्धनले लज्जास्पद निर्णय गरेपछि आफूहरु नयाँ निर्णयमा पुगेको बताउनुभएको छ ।
प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि एमालेको तर्फबाट धारणा राख्दै निवर्तमान मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । ‘उहाँले संविधानको प्रावधान अनुसार आफूले प्रदेशमै निर्णय गरेको दाबी पनि गर्नुभयो । उहाँले केन्द्रीय सत्ता गठबन्धनमा हिजो पनि नभएको र आज पनि नहुने बताउनुभयो। कार्कीले संसद्को अंकगणितको बारेमा सामान्य ज्ञान नहुँदा अहिलेको परिणाम आएको बताउनुभयो।
कार्कीले अहिलेको परिस्थिति आउनका लागि गठबन्धन नै जिम्मेवार रहेको संकेत गर्नुभयो। संविधानको धारा १६८ (३) लाई विश्वासको मत दिन भन्दै आफू केन्द्रका नेतालाई पनि भनेको बताउँदै उहाँले उपधारा (५) मा बनिबनाउ बहुमत भएजस्तो कुरा गरेको कारण अहिलेको अवस्था आएको उहाँले बताउनुभयो ।
वातावरण सकारात्मक बन्नसक्ने देखेरै आफूले राजीनामा दिएको उहाँले बताउनुभयो । कार्कीले हलो अड्काएर गोरु कुट्ने काम नगर्न आग्रह गर्दै मध्यावधिमा लाने प्रयास नगर्ने चेतावनी पनि दिनुभयो ।