Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सर्वदलीय बैठक: गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता

सर्वदलीय बैठक: गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता

  • मंगलवार, कार्तिक २१ २०८०

  • 880
    SHARES

  • सर्वदलीय बैठक: गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता
    काठमाडौं । संविधानमाथि भइरहेको प्रहारविरुद्ध एकजुट भएर अगाडि बढ्ने प्रमुख दलहरूले निष्कर्ष निकालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आयोजनामा मंगलबार(आज) बसेको सर्वदलीय बैठकले शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको माओवादी उपाध्यक्ष पम्फा भुसालले जानकारी दिनुभयो।
     
    प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधानका पक्षधरहरूसँग छलफल गरेको उपाध्यक्ष भुसालको भनाइ छ। ‘प्रधानमन्त्रीज्युले शान्ति सम्झौताका पक्षधर, संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरसँग छलफल गर्नुभएको हो। यस विषयमा व्यापक समीक्षा भएको छ,’ उहाँले भन्नुभयो।
     
    उहाँले पछिल्लो समय व्यवस्थामाथि नै प्रहार हुन खोजेको भन्दै त्यसविरुद्ध प्रमुख दलहरू एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालिएको बताउनुभयो। ‘पानीको फोकाजस्तै देखिएका प्रहारहरूको शीर्ष नेतृत्वले मिलेर प्रतिवाद गर्ने प्रतिबद्धता भएको छ। अहिले व्यवस्थामाथि नै प्रहार गर्नेखालका गतिविधि भइरहेका छन्,’ उहाँले भन्नुभयो।
     
    उहाँले प्रधानमन्त्री दाहालले छिट्टै अर्थतन्त्रमा देखिएको समस्या समाधान लागि बृहत् भेला आयोजना गर्ने बताउनुभयो। त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
     
    त्यसक्रममा एमालेले भने सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै सरकारको कार्यशैली परिवर्तन गर्नुपर्ने धारणा राखेको थियो । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डले १२ बुँदे समझदारी र विद्यमान विषयवस्तुमा छलफल गर्न आफूहरूलाई बोलाएको बताउनुभयो। उहाँले बैठकमा सरकारले जनतालाई डेलिभरी दिन नसकेको, गृह प्रशासन मूकदर्शक बनेको, अर्थतन्त्र डामाडोल भएको भन्दै प्रधानमन्त्रीलाई सचेत गराएको बताउनुभयो ।
     
    उहाँले संक्रमणकालीन न्याय टुंग्याउन एमाले तयार भएको र त्यसको आवश्यक पहलकदमी प्रधानमन्त्रीले लिनुपर्ने उहाँको भनाइ छ। 
     
    छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरूको उपस्थिति थियो ।
     


    मंगलवार, कार्तिक २१ २०८००५:२७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij