Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

छठपर्व : बर्तालुले आज ‘नहाय-खाय’ विधि गर्दै

छठपर्व : बर्तालुले आज ‘नहाय-खाय’ विधि गर्दै

  • शुक्रवार, मंसिर १ २०८०

  • 848
    SHARES

  • छठपर्व :  बर्तालुले आज ‘नहाय-खाय’ विधि गर्दै

    महोत्तरी । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन-जन परिचालित छन् ।

    पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दै छन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा-अरबाइन’ भनिने विधि हिजो बिहीबार नै गरेका हुन् । निरामिष (सात्विक) भोजन सुरु गरेर तृतीयाकै दिन व्रतको तयारी थालिने परम्परा छ ।

    छठले गर्दा मिथिलामा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदै छन् । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिंगारिएका छन् । पर्वमा महिला/पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ ।

    पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन बर्तालुले पवित्र स्नान गरी व्रत संकल्प गरेर चोखोनीतो खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय-खाय’ भन्ने गरिएको छ । पर्वले घर-घरमा व्यस्तता बढाएको छ ।

    श्रद्धा, निष्ठा र आत्मिक शुद्धीलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घ्यूमा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्ठान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिधिंएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।

    यी परिकार पकाइन चुल्हो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो) सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्वविशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
    हिजो बिहीबार कात्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा-अरबाइन’ र आज (चौथी तिथि) ‘नहाय-खाय’ विधि गर्ने बर्तालुले भोलि कात्तिक शुक्ल पञ्चमीका दिन दिउँसभरि निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खिर कूलदेवता र छठीदेवीलाई चढाएर प्रसादस्वरुप खानेछन् । यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

    बर्तालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख मनोरम घाट बनाइएको जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ ।

    यो व्रत यसपालि पर्सी आइतबार सम्पन्न गरिने छ । यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदा सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

    यसपालि छठको समापन आउने सोमबार बिहान सूर्योदयसँगै गरिनेछ ।मिथिलामा ‘सझुका अरख’ सम्पन्न गरेर घाटमै बस्ने र सप्तमीका दिन बिहान सूर्योदय हुन एक घडीअघिदेखि पानीमा चोबलिएर बर्तालुले गीतको भाखामा सूर्यदेवलाई चाँडै देखिन पुकारा गर्छन् । सबैजसो घाटमा रातभर जाग्राम बस्न गीत, संगीत, नाटक र मनोरञ्जनका अन्य साधन व्यवस्था गरिन्छन् ।

    केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । पहाड, मधेसको सांस्कृतिक घुलमिलले छठपर्व अब साझा पर्व बन्दै गएको यस क्षेत्रका बुद्धिजीवी बताउँछन् । जन-जन परिचालित हुने यो लोकपर्व मिथिला संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित भएको देखिन्छ । रासस


    शुक्रवार, मंसिर १ २०८००७:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij