काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा आदेश सुनाउने तयारी गरेको छ । न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा करिब ३ घण्टाअघि जवाफी बहस सकिएपछि अहिले आदेश सुनाउने तयारी भइरहेको हो ।
यस प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी मानवअधिकारकर्मी नेता टेकनाथ रिजालसहित १६ जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रतिवादीहरूले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए । जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्ने निवेदन लिएर प्रतिवादीहरू उच्च अदालत पाटन पुगेपछि जिल्ला अदालतको आदेश उपर सुनुवाइ भएको हो ।
उच्च अदालत पाटनले जिल्ला अदालतको आदेशलाई सदर, बदर वा केही हेरफेर गर्न सक्ने देखिन्छ । जिल्ला अदालतको आदेश बदर भएको खण्डमा प्रतिवादीहरू छुट्ने छन् भने सदर भएमा थुनामै रहनेछन् ।