काठमाडौं । बहुभाषा, बहुधार्मिक, बहुजातीय पहिचानसहित मिलेर बनेको राष्ट्रमाथि विभिन्न बहानामा पटकपटक आक्रमणको प्रयास भइरहेको छ । कतिपय राजनीतिक आवरणमा यस्तो क्रियाकलाप गरिरहेका छन् भने कतिपयले आर्थिकोपार्जनका निम्ति यी अभ्यास गरिरहेका छन् । पूर्वीय दर्शनसहित वैदिक सनातन धर्ममाथि विश्वले अनुसन्धान गरिरहेका बेला नेपालमा विभिन्न धर्मका नाममा समाज विभाजित पार्ने तत्त्व सक्रिय बन्दै जानु चिन्ताको विषय हो । विश्व मान्यता अनुसार सबैलाई धार्मिक स्वतन्त्रता छ, आफूले चाहेको धर्म कुनैपनि व्यक्तिले अँगाल्न सक्छ तर उसले अरूलाई हानी हुने काम गर्न पाउँदैन । आज नेपालमा मिसनका साथ विभिन्न धर्महरू आयातित भइरहेको विश्व हिन्दू यूवासंघका अध्यक्ष ऋषिकेशजंग शाहीको दाबी छ ।
केही दिनअघि ख्रीष्टियनले आयोजना गरेको महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले ख्रीष्टियन धर्मलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, भन्दै त्यस्तालाई हतकडी लगाएर जेल हाल्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेपाल सनातन धर्म, संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले कडा प्रतिवाद गर्नुभएको छ ।
नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले धर्म आवश्यकता अनुसार फैलिँदै जाने दाबी गर्नुभयो । मानिसको आस्था जतिबेला पनि परिवर्तन हुनसक्ने भन्दै विभिन्न धर्ममा विकृति निम्तिएको पनि बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले पर्यटन मन्त्री सुदन किराँती नभई राई भएको दाबी गर्नुभएको छ । किराँती समुदायलाई गुमराहमा पार्न पर्यटन मन्त्रीले गलत क्रियाकलाप गरिरहेको शाहीको आरोप छ । हिजो त्यही समुदायलाई चोट पुर्याउँदै आएका सुदन किराँती बहुरूपी रहेको शाहीको भनाइ छ ।
समाजमा द्वेष फैलाउने अभिव्यक्ति दिन कसैलाई छुट छैन । किराँतीको अभिव्यक्तिका कारण हिंसा भड्कियो भने सिंगो पार्टीले ठूलो मूल्य चुकाउनुपर्नेछ । मिलेर बसेको समाजलाई थप सद्भाव कायम राख्न प्रेरित गर्नुपर्दछ ।