काठमाडौं । प्रहरीको गोली प्रहारबाट १ जनाको ज्यान गएपछि भएको तनाव सर्लाहीमा अझै जारी छ। तनाव कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले सोमबार(भोलि) बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाएको छ।
आइतबार(आज) सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाले एक सूचना जारी जारी आज दिउँसो १२ः४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मलाई कर्फ्यू लगाइएको जानकारी दिनुभएको छ। सर्लाहीको बरहथवा नगरपालिकाको निश्चित ठाउँलाई तोकिएर कर्फ्यू लगाइएको छ।
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पश्चिममा सोती–चोर्निया पुलको सीमाभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख गरिएको छ।
गत शुक्रबार स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा विवाद हुँदा प्रहरीको गोली लागेर ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि सर्लाहीमा तनाव कायमै छ। साहको मृत्यु भएपछि सरकारले राहत स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरिसकेको छ।
साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति समेत गठन भएको छ।
छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी पनि संलग्न हुनुहुन्छ ।
शुक्रबार बरहथवा नगरपालिका–५ मा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने–नगर्ने भन्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ३० वर्षीय साहको मृत्यु भएको थियो। अझैसम्म मृतकको शव उठ्न सकेको छैन।
त्यसैगरी गोली चलाएको आरोप लागेका इलाका प्रहरी कार्यालय बरहथवाका वरिष्ठ हवलदार सानेलाल यादवलाई जिल्ला तानिएको छ। प्रदर्शनकारीले यादवले गोली चलाएको आरोप लगाएकाले छानबिनका लागि जिल्ला तानिएको सर्लाहीका एसपी प्रवीण धितालले बताउनुभयो।