काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ रूप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । भेरियन्ट विभिन्न माध्यमबाट आउने भएकोले सतर्क रहन सरकारले आग्रह गरेको छ । छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार केही दिनअघिबाटै जेएन वान फैलिएकोले भारतमा देखिनासाथ नेपाल भित्रिनु सामान्य रहेकोले सतर्कता अपनाउन जरुरी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ । प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जेएन वान भाइरस तत्कालका लागि कम घातक तर तीव्र गतिमा फैलने जनाएको छ । यसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीर काम्ने, थकान महसुस हुने, नाकबाट पातलो पानी बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दुख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्ने चिकित्सकहरूले बताएका छन् । छातीरोग विशेषज्ञ एवं राष्ट्रपतिका निजी चिकित्सक नीरज बमले संक्रमण दर बढी भएकोले यसबाट सतर्क रहन आग्रह गर्नुभयो । हाललाई संक्रमणदर कम भएपनि नागरिकलाई सचेत गराएर पठाउने गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाडौं, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको सङ्क्रमण र यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सकेसम्म भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन र अरूलाई पनि यी मापदण्ड पालना गर्न लगाउन भनिएको छ ।