Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने

  • आइतवार, पौष २९ २०८०

  • 701
    SHARES

  • माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने

    काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

    ‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मिति २०८०।१०।०२ देखि मिति २०८०।१०।१२ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    आयोगको निर्णय अनुसार कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन आचारसंहिताले बन्देज गरेको छ । यस्तै निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने, राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्‍कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

    त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्‍ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन पनि नपाइने आयोगले जनाएको छ ।


    आइतवार, पौष २९ २०८००४:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij