Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पशुपति क्षेत्रका अवैध संरचना हटाउन र हराएको जग्गा खोजी गर्न पर्यटनमन्त्रीको निर्देशन

पशुपति क्षेत्रका अवैध संरचना हटाउन र हराएको जग्गा खोजी गर्न पर्यटनमन्त्रीको निर्देशन

  • मंगलवार, माघ १६ २०८०

  • 630
    SHARES

  • पशुपति क्षेत्रका अवैध संरचना हटाउन र हराएको जग्गा खोजी गर्न पर्यटनमन्त्रीको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन निर्देशन दिनुभएको छ। सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किराँतीले यस्तो निर्देशन दिनुभएको हो।

    बैठकको अजेण्डामाथि लिखित निर्णय गराउँदै मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको हो। तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका आलिसान घर खाली गराउन मन्त्री किराँतीको निर्देशन अनुसार बोर्डले निर्णय गरेको छ।

    पशुपति क्षेत्र विकास कोषको काठमाडौं महानगरपालिका वडा नम्बर ८ गाँचापोखरीस्थित साविक कित्ता नं ९३, हालको कित्ता नं १०२, ३३३, ३३५, ११०, ४१९, ३११, २८६, ११२, ११७, २८३, गरि ३ रोपनी ६ आना १ पैसा जग्गा हाल व्यक्तिले हडपेर आलिसान घर बनाएर भोगचलन गर्दै आएका छन्।

    त्यस्तै वडा नं ३ भगवानस्थानमा साविक कित्ता नं ५१ बाट हालको कित्ता नं १४३, १४४, ६५, २८ को ३ रोपनी ८ आना जग्गामा समेत व्यक्तिले संरचना बनाएर भोगचलन गर्दै आएको पाइएको छ।

    त्यस्तै सिफलस्थित लामापोखरीमा रहेको कित्ता नं १३५, १८०, ८३ मा समेत अधिग्रहण गरी व्यक्तिले भोगचलन गर्दै आएका छन्।

    यी जग्गामा रहेको संरचना हटाउनका लागि कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने बोर्डले निर्णय गरेको छ। बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन सहाले प्राविधिक मूल्याङ्कन आएका एक घण्टा भित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताउनुभएको छ।

    त्यस्तै गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको ५ सय ३४ रोपनी जग्गामध्ये हराएको २९ रोपनी जग्गा खोज्नका लागि मन्त्रालयले समिति गठन गर्ने समेत बोर्ड बैठकमा निर्णय भएको छ। हराएको जग्गा खोजीका लागि पूर्वसचिव स्तरीय उच्च समिति गठन गरिने मन्त्री किराँतीले बताउनुभएको छ।

    यो प्रकरण अर्को ललिता निवास प्रकरण जस्तै हुनसक्ने र कुनै शक्ति केन्द्रको दबाब आफूलाई सैह्य नहुने बताउँदै मन्त्री किराँतीले पशुपतिको बेथिति निर्मुलका लागि एक्सन प्लानका आधारमा आफूलाई कामको नतिजा ल्याउन कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

    यससँगै विवादित पशुपति आर्यघाटको आरतीको विषयमा सत्यतथ्य छानबिन गरी निर्णय खारेज गर्नका लागि कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्य अध्ययन समिति गठन गरिएको छ।

    कोषका सदस्यसचिव राजु खत्रीका अनुसार वर्षौंबाट कोषको जग्गा व्यक्तिले शक्ति केन्द्रको प्रभावमा हडपेर व्यावसायिक तथा निजी प्रयोजनका लागि भोगचलन गर्दै आएको बताउनुभएको छ। सो जग्गा खाली गरेर पुराना प्राकृतिक संरचना कायम गर्न महानगरपालिकासँग सहकार्य गरिने कोषका सदस्य सचिव खत्रीले बताउनुभएको छ।


    मंगलवार, माघ १६ २०८००२:१५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij