काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरूलाई एक ठाउँमा ल्याउन माओवादी केन्द्रले पहल गर्नुपर्ने बताउनुभयो । मंगलबार प्रज्ञा भवनमा भएको पार्टीको विधान अधिवेशनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले समाजको बाटो तय गर्न वामपन्थीहरुको एकतालाई जोड दिनुपर्ने बताउनुभएको छ ।
माओवादीले जनयुद्ध गरेर अहिलेको अवस्था सिर्जना गरेको बताउँदै अब शान्तिपूर्ण रूपमा समाजवादको आधारशिला तय गर्नुपर्ने बताउनुभयो ।
अहिले राष्ट्रका लागि ४ वटा कार्यभार रहेको बताउँदै उहाँले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्नु र राष्ट्रियतालाई बलियो बनाउनु पहिलो कार्यभार रहेको बताउनुभयो । सङ्घीयता र लोकतन्त्रलाई बलियो बनाउनु, यसमाथि भइरहेको आक्रमणलाई रोक्नु दोस्रो कार्यभार, सामाजिक आर्थिक विकास गर्दै मुलुकलाई समृद्ध बनाउनु अर्को कार्यभार रहेको उल्लेख गर्नुभयो।
उहाँले राजनीतिक लक्ष र जनताको अपेक्षा अनुसारको विकासका काम नभएको बताउँदै अबको कार्यभार भनेको समृद्धिको यात्रालाई अघि बढाउन क्रमभङ्ग गरेर जनताका शिक्षा, स्वास्थ्य, रोजगार, बाटाघाटा, सञ्चार लगायतका आवश्यकता पूरा गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।