काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई घुँडा टेकाएपछि तरंग सिर्जना भएको छ । आगामी निर्वाचनमा कुनैपनि हालतमा रुख बाहेकको चुनाव चिन्हमा कांग्रेस कार्यकर्ताले भोट हाल्न नहुने गरी महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदन मान्न सभापतिनै राजी हुनुभएको छ । यद्यपि अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने द्वैध चरित्रको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यो गठबन्धनलाई टिकाउँदै आवश्यकता र परिस्थिति अनुसारको निर्णय लिन सकिने शर्माको प्रतिवेदनको आशय छ । कांग्रेस महासमितिमा प्रस्तुत प्रतिवेदनले गठबन्धनमा समेत तरंग सिर्जना भएको छ । मंगलबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कांग्रेसले भने महासमिति बैठकभित्र भइरहेका गतिविधि पार्टीको उन्नयनका लागि रहेकोले कसैलाई नचिढिन आह्वान गरेको छ । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमा कुनैपनि गलत व्याख्या नभएको दाबी गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले कसैको वैशाखी टेक्न आवश्यक नरहेको बताउनुभयो । यसअघि भएका गल्तीहरूलाई सच्याउँदै राणाशासन हटाएको कांग्रेसलाई थप सशक्त बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । पार्टी कार्यकर्ताहरूको मनलाई विचलित नबनाउन नेतृत्वपंक्तिले संयमता अपनाउनुपर्ने उहाँको सुझाव छ ।
नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनबारे अहिले बोल्न आवश्यक नभएको नेताहरूले सुझाव पनि दिएका छन् । महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गरेर जानुपर्ने प्रस्ताव आएपछि नेताहरूको मिश्रित प्रतिक्रिया आइरहेको छ । राजनीतिक विश्लेषक शंकर तिवारीले कांग्रेसलाई तितरबितर हुनबाट रोक्नका लागि महामन्त्रीको प्रतिवेदन कोशेढुंगा साबित हुने बताउनुभयो ।
कांग्रेसमा पछिल्लो समय दोस्रो पुस्ताले नेतृत्वमाथि सशक्त आवाज उठाएको देखिन्छ । नयाँ पुस्ताले विगतमा भएका त्रुटिहरूलाई सच्याएर जान नेतृत्वलाई दबाब दिएको छ । कांग्रेस अझैपनि नसुध्रिए आगामी दिनमा संगठन धरापमा पर्ने र कार्यकर्ता पंक्ति घट्दै जाने पक्का छ ।