काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गर्नुभएको छ। कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो। उहाँलाई निमित्त कुलपति प्राडा शिवलाल भुसालले पदभार ग्रहण गराउनुभएको थियो ।
पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी सहभागी थिए ।
प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले हिजो उहाँलाई उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । शिक्षा मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा बराल नियुक्त हुनुभएको हो ।
समितिले बरालसहित प्राडा चित्रबहादुर बुढाथोकी र प्राडा टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । सिफारिसमा दोस्रो नम्बरमा रहेका बराल उपकुलपति बन्नुभएको हो ।
पोखरा विश्वविद्यालय पूर्व उपकुलपति समेत रहनुभएका बरालले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्ने समेत बताउनुभएको छ । पदभार ग्रहण गर्दै उहाँले शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाउनुभयो।
शैक्षिक क्यालेन्डर कार्यान्वयन, समयमै परीक्षा तथा नतिजा प्रकाशन लगायतका विषय आफ्नो प्राथमिकतामा रहने बताउनुभयो ।