काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले नेपालको राजनीति अहिले फरक ढंगले अघि बढेको बताउनुभएको छ । वर्तमान सत्ता गठबन्धन फरक परिस्थितिमा बनेको बताउँदै उहाँले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि सँगै अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गदै उहाँले अहिलेको जनादेशले नै एकल सरकार बनाउन नसक्ने भएकाले यो गठबन्धन बनेको दाबी गर्नुभयो । थापाले कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिक्क भएर एमालेसँग गठबन्धन भएको जिकिर गर्नुभयो । हिजोका तिक्ततालाई भुलेर नयाँ सहकार्य भएकोले अब जनताको घाउमा मलहम लगाउनुपर्ने बताउनुभयो ।
उहाँले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई आफ्नो पसल बन्द गर्न सुझाव दिनुभयो । आउन सक्ने जति देशभरका कार्यकर्ता एमालेमा ओइरो लागेको भन्दै आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेर फर्किन आग्रह गर्नुभयो ।
नेता थापाले सत्ता गठबन्धनमा सबैलाई मिलाएर लैजाने चुनौती रहेकाले मन्त्रालय बाँडफाँटमा केही समय लाग्ने बताउनुभयो । गठबन्धन बन्नु नै मुख्य कुरा भएको भन्दै उहाँले मन्त्रालय बाँडफाँटको कुरा मिल्नु सामान्य कुरा भएको जिकिर गर्नुभयो । गृह मन्त्रालय नपाए सरकारमा नजाने रास्वपाको अडान छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उहाँले गठबन्धनको शिल्पीहरू नै असन्तुष्ट भएर सरकारबाट बाहिरिने कुरा नभएको दाबी गर्नुभयो ।