काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चैत ६ गते प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । प्रतिनिधि सभाको बैठकमा चैत ६ गते बस्ने बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
यसपालि समूह चारमा रहेका सांसदहरूले प्रश्न गर्न पाउनेछन् । त्यसका लागि चैत २ गते ३ बजेभित्र संसद् सचिवालयमा प्रश्नहरू बुझाइसक्नुपर्ने घिमिरेले बताउनुभयो ।
आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुभएको छ । उहाँले १५७ मत प्राप्त गर्नुभएको हो । त्यस्तै उहाँको विपक्षमा ११० जनाले मत दिँदा एक जना तटस्थ बसेका थिए ।
यसैगरी प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बिहीबार(भोलि) बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।