काठमाडौं । एसिसी प्रिमियर कप र आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप आयोजित ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा घरेलु टोली नेपाल आयरल्यान्ड वुल्भ्समाथी ६ विकेटले विजयी भएको छ ।
टी–यू क्रिकेट मैदानमा १२२ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४ चौकासहित ३८, सन्दीप जोराले २ छक्का र ३ चौकाको मद्दतमा ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रनको योगदान गरेका थिए ।
आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एक÷एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले २÷२ विकेट लिए । करण केसी र कुशल मल्लले १÷१ विकेट लिए ।