काठमाडौं । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद मत्थर हुने संकेत देखिएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संस्थापक अध्यक्ष रेशम चौधरी पक्षबीच विवाद नटुङ्गिँदा नेता, कार्यकर्तामा निराशा छाएको थियो । केन्द्र सरकारको बदलिएको समीकरणसँगै शुरु भएको विवाद प्रदेशमा प्रवेश गरेको हो । केन्द्रमा नाउपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ । आफूले स्थापना गरेर हुर्काएको पार्टीमा पछिल्लो समय निर्णय लागू हुने अवस्था कमजोर बन्दै जाँदा रेशम चौधरी आक्रामक हुँदै गएका छन् । रञ्जिता पक्षले रेशमले लिएको बाटो गलत रहेको भन्दै अड्डी कसिरहेको छ । पार्टीलाई विधिसम्मत तरिकाले चलाउनुपर्ने भन्दै नेता रमेश विकले गरिब र निमुखाका छोराछोरीहरूलाई राज्यको पहुँचमा पुर्याउन ध्यान दिनुपर्ने बताउनुभयो ।
रेशम चौधरीले आफ्नो पार्टीमाथि अन्य दलहरूले खेलिरहेको आरोप समेत लगाउनुभएको छ । पार्टीमा नयाँ गोठालाहरूले प्रवेश गरेको भन्दै चनाखो बन्नुपर्ने उहाँको सुझाव छ । यता, अध्यक्ष रञ्जिता पक्षधरहरूले रेशमले आफू सरकारको उपप्रधानमन्त्री हुन पाउनुपर्ने गैर राजनीतिक प्रस्ताव राखेको दाबी गरेको छ । प्रधानमन्त्री प्रचण्डले समेत नाउपाको विवाद मिलाउन भन्दै दुईजनालाई अलग–अलग भेट गरेका थिए । अधिवक्ता स्वागत नेपालले नाउपालाई कमजोर पार्न भइरहेका गतिविधिहरूमा पार्टी गम्भीर नभएको दाबी गर्नुभयो । अरूको घरझगडा पारेर धुरीमा बसी रमिता हेर्ने प्रचलन नेपाली राजनीतिमा रहेको उहाँको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीभित्र सत्ता र स्वार्थको द्वन्द्व चलिरहेको छ । एकपटक मन्त्रीको स्वाद लिनुभएकी अध्यक्ष श्रेष्ठलाई सत्तासाझेदार दलबाट ललिपप देखाएको आरोप लाग्ने गरेको छ । यद्यपि उहाँले यो कुरालाई खण्डन गर्नुभएको छ । उम्रिन नपाउँदै पलाएको अहंकारले पतनको बाटो निम्त्याएको छ ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिनुभएको छ । शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको छ ।