काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबीच अहिले एकताको सम्भावना नभएको बताउनुभएको छ। आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताउनुभएको हो ।
‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन् । त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौँ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उहाँले भन्नुभयो ‘त्यस्तो भएन भने अप्ठ्यारो स्थिति पनि हुन सक्छ । जे भएपनि अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ ।’
यस्तै उहाँले सरकारको नीति तथा कार्यक्रम, बजेट परम्परागत भन्दा फरक तरिकाले ल्याउने प्रयास गरिरहेको बताउनुभयो । बजेटलाई विगतको भन्दा वैज्ञानिक, वस्तुवादी बनाउने, जनवादी बनाउने किसिमले तयारी भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।