काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री प्रचण्डले बिहान १० बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।
आजको बैठकमा कतारका राजाको भ्रमणको बारेमा छलफल हुने बताइएको छ । कतारका राजा मोहम्मद बिन अल थानी भोलि मंगलबार नेपाल आइपुग्दै हुनुहुन्छ । कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।
त्यस्तै, आजको मन्त्रिपरिषद् बैठकमा केही नियुक्ति र बढुवाको पनि निर्णय गरिनेछ । नेपाल प्रहरीका दुई डिआइजी एआईजीमा बढुवा सिफारिस भएका छन् । यस्तै, दुई एसएसपी डिआइजीमा बढुवा सिफारिस भएका छन् । उनीहरूको बारेमा पनि निर्णय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै, बैठकमा बजेट अधिवेशन आह्वान सिफारिसको विषयमा पनि निर्णय हुने सम्भावना छ । हिउँदे अधिवेशन गत ३० चैतमा अन्त्य भएको थियो । सरकारले आगामी १५ जेठमा बजेट ल्याउनुपर्ने बाध्यता छ । त्यसअघि नीति तथा कार्यक्रम ल्याउने सरकारले तयारी छ ।