Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

संक्रामक रोगले महामारीकै रुप लिने जोखिम, सचेत रहन विज्ञको सुझाव, पुर्णरुपमा तयारी अवस्थामा रहेको सरकारको दाबी (खासखबर)

संक्रामक रोगले महामारीकै रुप लिने जोखिम, सचेत रहन विज्ञको सुझाव, पुर्णरुपमा तयारी अवस्थामा रहेको सरकारको दाबी (खासखबर)

  • शुक्रवार, श्रावण १८ २०८१

  • 876
    SHARES

  • संक्रामक रोगले महामारीकै रुप लिने जोखिम, सचेत रहन विज्ञको सुझाव, पुर्णरुपमा तयारी अवस्थामा रहेको सरकारको दाबी (खासखबर)

    काठमाडौं। गर्मी तथा वर्षाको मौसममा सरुवा रोगको जोखिम बढ्छ । पानीजन्य संक्रमण, खानपान, हावा र कीटाणुका कारण सरुवा रोग लाग्छ । अहिले बर्षातका वेला संक्रामक रोग फैलिरहेका छन् ।

    वर्षायाममा भेल मिसिएर खानेपानीका स्रोतहरु दूषित हुन पुग्छन्। पानीमा जनावरको मलमूत्र मिसिएर पनि खानेपानीको स्रोत दूषित हुन्छ । त्यसैले दूषित पानीबाट सर्ने रोग गर्मी र वर्षायाममा धेरै हुन्छन् ।

    यो बेला लामखुट्टे पनि बढी हुने भएकाले यसले पनि विभिन्न रोग निम्त्याउँछ । खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिंगा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकाले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुने गरेको हो ।

    बर्षायाममा झाडापखाला, हैजा, डेंगु, टाइफाइड, जन्डिस (हेपाटाइटिस ए, ई) जस्ता संक्रामक रोगको जोखिम बढि हुने चिकीत्सकहरु बताउछन्। संक्रामक रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार संक्रामक रोगका बिरामीको संख्या बढिरहेको र मनसुन पनि थप लम्बिने प्रक्षेपण भएका बेला थप सतर्कता अपनाउन आग्रह गर्नुहुन्छ ।

    बिशेषगरि पछिल्लो समय देशका कतिपय जिल्लामा हैजाको संक्रमण देखा परेको छ । दिसा मिसिएको पानी र खानाले हैजा लाग्छ । भिव्रियो नामक ब्याक्टेरियाका कारण हुने हैजा संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।

    दूषित पानी र खानाबाट समेत यो मानिसमा सर्छ । यसको संक्रमण भएमा बिरामीलाई चौलानी जस्तो दिसा हुने, तारन्तार पखाला लाग्ने, बान्ता हुने, मांसपेशी बाउँडिने, मानिस बेहोस हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, शरीरमा पानीको मात्रा जस्ता लक्षण देखा पर्छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले अघिल्ला बर्ष जस्तै अहिले पनि संक्रामक रोग बढिरहेको बताउदै त्यसको उपचार र रोकथामका लागि जनशक्ति र औषधीको भण्डारण प्रयाप्त मात्रामा रहेको बताउनुहुन्छ ।

    वर्षायाममा सरुवा रोगबाट बच्न पानी उमालेर, शुद्धीकरण गरेर मात्रै पिउनु पर्छ । तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खानुपर्छ ।

    घर वरपर सफा राख्ने, फोहोरजन्य वस्तु उचित तरिकाले विसर्जन गर्ने, अत्यधिक ज्वरो आउने, दिसामा रगत देखिने, दिनमा पाँच पटक भन्दा बढी पखाला लाग्ने जस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जानुपर्ने चिकीत्सकहरुको सुझाव छ ।

    बर्षातको बेला पानी दुषित हुने हँुदा संक्रमण छिटो फैलिने डर हुन्छ । संक्रमणबाट बच्न आफु सचेत हुने र स्वस्थ्य खानेकुरा खानुपर्ने डा बुढाथोकी सल्लाह दिनुहुन्छ ।वर्षायाम सुरु भएसँगै झाडापखालाबाट बिरामी हुनेहरूको संख्या पनि बढ्छ ।

    प्रायः जीवाणु, विषाणु तथा परजीवी लगायत संक्रमणले गर्दा झाडापखाला लाग्छ ।अर्को संक्रामक रोग हो डेंगु, एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।

    डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन ।

    गर्मी मौसममा टाइफाइड हुने सम्भावना पनि बढी हुन्छ । टाइफाइडबाट बच्न पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ । पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने, खानुअघि राम्ररी हात धुने, तारेको, भुटेको खानेकुरा नखाने,जतिसक्दो, ताजा र पौष्टिक आहारा खाने र टाइफाइडग्रस्त मानिसको संसर्ग नबस्ने आदि कुरामा ध्यान दिनुपर्छ।

    औलो पनि लामखुट्टेकै टोकाइबाट लाग्ने अर्को संक्रामक रोग हो । यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । औलोबाट बच्न पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।जन्डिस पनि बर्षायाममा देखिने अर्को संक्रमण हो ।

    दूषित पानी र खानपानबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा हेपाटाइटिस ‘ए’ र ‘ई’ अर्थात् जण्डिस सर्न सक्छ ।त्यसैले संक्रामक रोगबाट बच्न स्वस्थ जीवनशैली तथा आनीबानी र स्वस्थ आहारविहारमा ध्यान दिनुपर्छ जसले गर्दा संक्रामक रोग लाग्न तथा फैलिनबाट जोगाउँछ ।

     


    शुक्रवार, श्रावण १८ २०८१०८:०५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij