काठमाडौं । स्थापित राजनीतिक दलहरूले नै मुलुकको विकास र समृद्धिमा योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण अहिलेको गठबन्धनले पुष्टि गरिरहेको पाइएको छ । चारैतर्फ छाएको निराशा बिस्तारै आशामा परिणत हुन थालेको आम नागरिकको भनाइ रहेको छ । बजारमा देखिएको हरियालीसँगै अर्थतन्त्रका सूचकहरू तन्द्रिन थालेका छन् । मौद्रिक नीतिले समेत अर्थ क्षेत्रलाई तन्काउन खोजेको देखिएको छ । आन्तरिक र वैदेशिक लगानीकर्ताहरूले लगानीको वातावरण तयार रहेको भन्दै चासो देखाउन थालेका छन् । कांग्रेस सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले च्याँखे थाप्नेहरूलाई डर देखिएतापनि आम सर्वसाधारणहरूमा आशाको सञ्चार भएको बताउनुभयो ।
यो समीकरणले काम गरे अहिलेसम्मको निराशालाई चिर्न अवसर रहेको राजनीतिक विश्लेषक प्राडा गोविन्द गुरागाईंको भनाइ रहेको छ । नयाँ शक्तिप्रतिको आशा अझै बाँकी रहेकोले कांग्रेस–एमालेले दिने डेलिभरीले थप स्पष्ट पार्ने उहाँको दाबी छ । जनतामा देखिएको वितृष्णालाई चिर्नका निम्ति सबै जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ रहेको छ ।
एमाले र माओवादीको मिलन भन्दा पनि ओली–प्रचण्डको हठका कारण अघिल्लो समीकरणलाई धक्का लागेको माओवादी केन्द्रका सचिव गणेश साहको भनाइ रहेको छ । आम नेता कार्यकर्ताहरूमा एक प्रकारको आशा पलाएको समयमा दुवै नेताहरूका कारण मुलुकले धोका पाएको उहाँको भनाइ थियो ।
अहिले दुई ठूला दलहरूको प्रारम्भिक काल सकारात्मक दिशातर्फ गइरहेको विश्लेषकहरूले बताएका छन् । यसको पूर्ण आकार आउन एकसय दिन कुर्नुपर्ने उनीहरूको भनाइ रहेको छ । अब मुलुकको विकास र समृद्धिमा कसैले पनि बाधा पुर्याउने र नानाथरी विषयमा समय खेर फाल्ने छुट छैन ।