काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच आज पौने २ घण्टा छलफल भएको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।
नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । आज नै सचिवालय बैठक तोक्ने प्रयास भए पनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।
बालुवाटारमा छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गर्नुभएको थियो । उहाँ सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोल्नुभएको थियो । प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौंदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताउनुभयो ।
१० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको अभिव्यक्ति दिनुभएको थियो ।
१७ असारमा बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरेका थिए ।
प्रचण्डले यसो भनिरहँदा अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेको एक नेताले बताए ।
त्यसपछि बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम बोल्नुभएको थियो । उहाँले सकेसम्म बैठक बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निश्कर्ष नै नमान्ने गरेको भन्दै ओलीको आलोचना गर्नुभयो ।
नेकपाको समस्या व्यक्तिवादी कार्यशैली हो र त्यसको प्रतिनिधिपात्र प्रधानमन्त्री हुन् भन्ने उहाँको निष्कर्ष थियो । नेताहरूका अनुसार गौतमले लगाएका आरोपको पनि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।
त्यस्तै, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गर्नुभएको थियो ।
प्रवक्ता श्रेष्ठले ९ कात्तिकको पत्रमा प्रधानमन्त्रीले रअका प्रमुखसँग गरेको भेट, प्रदेश सरकारलाई संघीय सरकारको प्रशासनिक एकाइ बनाउने अभिव्यक्ति र कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णयमा आफ्नो असहमति दर्ज गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।
यता, पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री ओली बोल्नुभएको थियो । उहाँले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाउनुभएको छ । छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए ।
तर, ओलीले आफूले बैठक नबस्ने नभनेको तर अहिले नै मिति तोक्न नसक्ने बताएको स्रोतको दाबी छ । भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि बैठकको मिति नतोकिएको जानकारी दिनुभयो ।