काठमाडौं । पछिल्लो समय आफूमाथि कुनैपनि किसिमको आरोप लागेमा प्रतिकार गर्ने शैली बढ्दै गएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले करिब २९ वटा सहकारी र पछि बीचमा थपिएका ११ सहकारीको सत्यतथ्य जाँचबुझ गरी सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयनकोे चरणमा आउँदा रास्वपाका सभापति रवि लामिछानेले त्यसको प्रतिवाद गरेका छन् ।
लामिछाने मात्रै होइन कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललगायतलाई सहकारी अनियमिततामा संलग्नता रहेको आरोप लागेको छ । आरोप लागिसकेपछि छानबिनका लागि मार्ग प्रशस्त गर्नुको साँटो दलबाटै वा स्वयं व्यक्तिले प्रतिरक्षा गर्ने परिपार्टी बन्दै गएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले गल्ती नभए अनुसन्धानमा सहयोग गनुपर्ने बताउनुभयो ।
विगतमा कांग्रेस उपसभापति समेत रहेका बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए, उनी पक्राउ समेत परे तर, पार्टीको जिम्मेवारीबाट उनलाई हटाउने कसैले हिम्मत गरेनन् । तत्कालीन समयमा कांग्रेसको एक कित्ता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेको थियो । अहिले पनि आरोप लागिसकेपछि नैतिकता देखाउने थिति बनिसकेको छैन ।
केही प्रमाणहरु भेटिँदा छानबिनमा सहयोग गर्ने मौखिक प्रतिवद्धता आएपनि नैतिक रुपमा बहालवाला पद छाड्न धेरैले मान्दैनन् । विभिन्न प्रकरणमा राजनीतिक गन्ध मिसिँदा अनुसन्धान प्रभावित हुनेदेखि न्यायालयले पनि निष्पक्ष फैसलामा गर्नेमा शंका उत्पन्न हुने गरेको छ । यता, वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले कम्पनी ऐन अनुसार लामिछाने कारबाहीको दायरामा तानिने बताउनुभयो ।
अहिले रास्वपाले आफ्नो पार्टीका सभापति लामिछाने सहकारी प्रकरणमा मुछिदाँ बचाउ गरिरहेको छ । जसले गर्दा समितिको प्रतिवेदन कार्यान्वयनमा असहज भइरहेको छ ।