काठमाडौं। साफ महिला च्याम्पियनसीपमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। गएराती दशरथ रंगशालामा भएको खेलमा निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टीमा नेपालका चार खेलाडीले गोल गरे। भारतका दुई खेलाडीको प्रहार नेपाली गोलकिपर अञ्जना राना मगरले रोकेकी थिइन्। खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध गोल गर्दै भारतले अग्रता लिएको थियो।
भारतका खेलाडीले गोलको सेलिब्रेसन गरिरहेका बेला नेपालकी साबित्रा भण्डारीले बल चलाएर गोल गरेपछि विवाद भएको थियो।रेफ्रीले सुरुमा उक्त गोललाई मान्यता दिए पनि पछि मान्यता नदिँदा नेपालले विरोध जनाएको थियो।
त्यसपछि खेल अवरुद्ध भएको थियो। त्यसअघि रेखा पौडेल दोहोरो पहेलो कार्ड पाएर नेपाल १० खेलाडीमा सीमित भएपछि दर्शकले मैदानमा बोतल फाल्दासमेत खेल अवरुद्ध बनेको थियो।
अवरुद्ध खेल पुनः सुचारु भएको एक मिनेटभित्रै साबित्राले नेपालका लागि बराबरी गोल गरेकी थिइन्। अब नेपालले उपाधीका लागी नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अब सातौं संस्करणको च्याम्पियनसिपको फाइनल खेल आगामी बुधबार हुनेछ ।