काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ ।
प्रचण्डको प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलको टिप्पणी छ । पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले आज बिहान फेसबुकमा लेख्दै प्रचण्डले शुक्रबारको सचिवालय बैठकमा एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उल्लेख गर्नुभएको छ ।
प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन मुख्यमन्त्री पोखरेलले अनुरोध गर्नुभएको छ ।
‘क. प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरित सचिवालय वैठकमा प्रथम अध्यक्षकाविरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्मअनुरुप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु’, उहाँले लेख्नुभएको छ, ‘व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न अनुरोध छ । अध्यक्षहरु व्यक्तिगत बिचार राख्न स्वतन्त्र छन् । तर औपचारिक प्रस्ताव प्रस्तुत गर्दा दुवै अध्यक्षको सहमति हुने व्यवस्था पार्टी विधान र स्थायी समितिको पछिल्लो निर्णयमा समेत उल्लेख छ । गम्भीर विवादका वेलामा यस्ता विषयमा झनै संवेदनशील वन्नु पर्दछ ।’
