काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको छ । नेकपाभित्रको गहिरिँदो विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच भेटवार्ता भएको हो ।
स्रोतकाअनुसार दुई नेताबीच मंसिर १३ गते हुने सचिवालय बैठकलगायतका विषयमा छलफल भए पनि निकास निस्कन भने सकेन । सो भेटघाटपछि महासचिव पौडेलले छोटो पनि त्यस्तै प्रतिक्रिया दिनुभएको छ ।
पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिनेक्रममा पौडेलले भन्नुभयो, ‘परिस्थिति गम्भीर छ ।’’
गत मंसिर ३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २८ गते प्रचण्डले लगाएको आरोपपत्रको जवाफ दिने प्रतिबद्धता जनाउँदै आरोप प्रमाणित नभएमा प्रचण्डले राजीनामा दिनु पर्ने शर्त राखेपछि नेकपाभित्रको विवाद थप गहिराइमा पुगेको छ । यसैबीच दुवै नेताका बीचमा भेटघाट भएको हो ।