काठमाडौं । गृहमन्त्री रमेश लेखकले डेढ वर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गर्नुभएको छ । आज जिल्ला प्रशासन कार्यालय डडेलधुरा पुगेर डडेलधुराका भूकम्प प्रभावित अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बापतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गर्नुभएको हो ।
अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी आभास आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गर्नुभयो । उहाँले डोटी भूकम्प गएको डेढ वर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिनुभएको छ ।
यस्तै गृहमन्त्री लेखकले आज (शुक्रवार) बझाङ, शनिबार अछाम र जाजरकोटमा आइतबार पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई उद्घाटन गरिने जानकारी दिनुभएको छ। बझाङ, डोटी र डडेलधुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आकलन गरिएको र जाजरकोटमा क्षति आकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने भएको छ ।
मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गर्नुभएको छ ।