काठमाडौं । नेपाली कांग्रेस नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।
आज दिउँसो सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा स्याङ्जाका मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
कांग्रेसले सूर्यबहादुर केसीको निधनका कारण रिक्त रहेको समानुपातिकतर्फको सांसदमा मोहनबहादुर पाण्डेलाई मनोनयन गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।
प्रतिनिधिसभा सदस्य तथा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको कात्तिक १७ गते राति पोखरामा निधन भएको थियो । मधुमेह र उच्च रक्तचापको समस्या रहेका केसीको ६३ वर्षको उमेरमा निधन भएको हो ।