काठमाडौं । ललितपुर जिल्ला पावरलिफ्टिङ संघको आयोजना तथा नेपाल पावरलिफ्टिङ संघको सहकार्यमा “बागमती वारियर्स (बागमती प्रदेशस्तरीय पावरलिफ्टिङ प्रतियोगिता २०२५” बैशाख ५ र ६ गते राजधानीस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुने भएको छ।
बागमती प्रदेशभरिका उत्कृष्ट पावरलिफ्टरहरूबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिता आगामी अगस्टमा काठमाडौंमा हुने एशियन पावरलिफ्टिङ प्रतियोगिताका लागि छनोटको आधार समेत हुनेछ।
पुरुषतर्फ ५९ केजी मुनिदेखि ८३ केजी माथिसम्म र महिलातर्फ ५७ केजी मुनिदेखि ६९ केजी माथिसम्म गरी विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ। साथै मास्टर (५० वर्ष माथि), सब जुनियर (१८ वर्ष मुनि) र जुनियर (२३ वर्ष मुनि) गरी उमेर समूहअनुसारका वर्गहरू पनि समावेश गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा १३ वर्गमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक तौल समूहका विजेतालाई नगद बीस हजार, दोस्रोलाई पन्ध्र हजार र तेस्रोलाई दश हजार प्रदान गरिनेछ। उमेर समूहका विजेताहरूलाई क्रमशः रू तीस हजार, पन्ध्र हजार र दश हजार पुरस्कार दिइनेछ। साथै, पुरुष र महिला ओपन श्रेणीका समग्र विजेताले नगद रू. एक लाख पुरस्कारसहित मेडल, ट्रफी र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
प्रतियोगितामा करीब १५० भन्दा बढी खेलाडी, ८० खेल अफिसियल तथा भलुन्टियर र १०००–१५०० दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ। कुल छ लाख ९५ हजार नगद पुरस्कार वितरण गरिनेछ भने समग्र कार्यक्रमको अनुमानित बजेट २५ लाख रहेको आयोजकले जनाएको छ।
आयोजकले पावरलिफ्टिङ खेलप्रेमी, प्रशिक्षक, खेलाडी तथा दर्शकहरूलाई कार्यक्रममा उपस्थित भई प्रतियोगिताको शोभा बढाउन अनुरोध गरेको छ। आयोजकका अनुसार यो प्रतियोगिताले नेपाली पावरलिफ्टिङको भविष्य उजागर गर्दै अन्तर्राष्ट्रिय मञ्चमा अगाडि बढ्ने बाटो तयार पार्नेछ।