काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो ।
जिल्लारनगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फको लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान हुनेछ। कोरोना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ ।
निर्वाचन बिहान ८ बजे शुरु हुनेछ । कुनै विवाद र समस्या नआए आज राती नै मत परिणाम आउने जनाईएको छ । आज देखि विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नुहुने छ । बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा प्यानलसहित उत्रिएका छन् ।
यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् । जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ प्रतिस्पर्धामा छन् भने एसोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।
यस्तै, जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना र संस्थापक सदस्यतर्फ एक जनाका लागि तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।
महासंघको नयाँ नेतृत्वका पुग्नका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् ।
कार्यकारिणी सदस्यतर्फ एक नम्बर प्रदेशबाट राजेन्द्र राउत र द्विराष्ट्रियबाट संदीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।