काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ । हिजो भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो ।
योसँगै निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व सम्हाल्नुहुने छ ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याउनुभएको छ । २० प्रतिशत मत भार रहकेको वस्तुगतमा चन्द्र ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याउनुभयो । ५० प्रतिशत मत भार रहेको जिल्ला–नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याउनुभयो ।
गएराति नै मत परिणाम आएको महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।
